चितवनमा सम्पन्न एमालेको दसौं महाधिवेशनबाट नेपाली जनताले आफ्नो उत्साह र उमङ्गको एउटा ठूलो अनुष्ठान निर्विघ्न रुपमा सम्पन्न गरेको सन्तुष्टि लिए
गोविन्द पोखरेल
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले धेरैको मथिङ्गल खलखल्याई दियो । केही व्यक्तिलाई विक्षिप्त बनायो भने केही प्रलापपूर्ण अभिव्यक्ति अहिले पनि दिइरहेका छन् । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जाइलाग्नु पर्ने बाध्यताका कारण उनीहरूले एमाले समाप्त भएको घोषणै गर्न भ्याए ।
माओवादी केन्द्रका सदाबहार अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका गगन थापाजस्ता केही नेता त एमाले बढार्ने ‘भ्याकुम क्लिनर’ निर्माण गर्ने फ्याक्टरीको खोजीमा भौतारिए । ओली विरोधी केही नेता ‘पोल्टिकल डिप्रेशन’को सिकार भए ।
एमाले विरोधीहरू, केपी शर्मा ओलीलाई सकेदेखि काँचै खान्थे भन्नेहरू, एमालेलाई समाप्त पार्न दिलोज्यानले लागेकाहरू बडो दयावान बनेर ‘एमाले बिग्रने हो कि’ भने जस्तो गरेर अनौठो खालको चिन्ता ब्यक्त गर्दै थिए । एमालेलाई दह्रो र सबल बनाउने काम आफ्नै हो जस्तो गरेर एउटा तत्व एमाले समाप्त पार्न आफ्नो दाह्रा र नङ्ग्रा उध्याउँदै थियो ।
तर, एमालेका जुझारू नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र नेपाली जनताले चितवन महाधिवेशन भब्य, सभ्य, आकर्षक अनि ऐतिहासिक रूपमा सफल पारे । नेपाली जनताले आफ्नो उत्साह र उमङ्गको एउटा ठूलो अनुष्ठान निर्विघ्न रुपमा सम्पन्न गरेको सन्तुष्टि लिए । विरोधका लागि विरोध गर्नेहरूले पहरोमा कुइनो ठोकिरहे । एमालेलाई त्यसले ‘लुतो न कन्याई’ मात्र भयो ।
दशौं महाधिवेशनले एमालेलाई एकताबद्ध, सशक्त, जुझारू र शक्तिशालीमात्र बनाएन, एमालेमा लाग्नेहरु कति छन् भन्ने ऐना पनि देखाइदियो । एमालेका विरोधी पुर्पुरोमा हात राखेर महाधिवेशनको उद्घाटनमा आएका जनता अनुमान गर्दै बस्न बाध्य भए । चितवनको आफू एकमात्र नेता भएको दाबा गर्ने एक ब्यक्तिले एमालेको महाधिवेशनमा आएका जनतालाई पैसा र धाकधम्कीका भरमा आएको भन्ने आरोप लगाए । अर्का एक सानो पार्टीका ठूलो नेताले ‘ओलीको एमालेलाई लाल्टिन बालेर खोज्नु पर्छ’ भनिदिए ।
उनीहरूले नेपाली जनता धेरै बुझ्ने भइसकेका छन् र यो २०५२ देखि २०६० सालतिरको समय होइन भन्ने हेक्कासम्म राख्न बिर्सेछन् । अहिलेका जनताले कुन पार्टीको कार्यकर्ता पङ्ति कस्तो छ, कुन पार्टीको जनधार कति छ, कुन पार्टीका नेताले ब्रम्हलुट गरेको फैसा थुपारेका छन्, नेताहरूमध्ये कुन नेता रवाफिलो, नाटके, भड्किलो र विदेशीले समेत धनाड्य भनेर औंल्याएको ब्यक्ति हुन भन्ने सजिलै बुझेका छन् । अहिले भयातुर बनेर एमाले अध्यक्ष ओली र एमालेलाई सराप्नुको कुनै तुक छैन । किन लडिस् मङ्गले आफ्नै ढङ्गले भन्ने उखान सम्झँदै आराम गर्दा हुन्छ ।
विभिन्न दलका नेतामात्र होइन, आमसञ्चारका माध्यामहरू पनि पहिलो नम्बरमा अध्यक्ष ओलाी, दोस्रो नम्बरमा नेकपा एमाले र तेस्रो नम्बरमा कम्युनिष्ट पार्टीविरुद्ध सङ्गठित रुपमा कन्दनी कसेर लागे । नेपालका केही ‘बिग मिडिया हाउस’ ले एकोहोरो शंखनाद गरे, ओली सकियो, एमाले सकियो । यसमा केही एफएम रेडियो र टेलिभिजन, अनलाइन न्यूज पोर्टल, युट्युव र सामाजिक सञ्जालमा समेत यस्तो रबैया देखियो ।
उनीहरूले शङ्ख फुक्न थालेको १७/१८ महिना हुन थाले पनि महाधिवेशन छेको पारेर फुकेको शङ्ख भने विराट राजाको गाई हरण गर्न गएका कौरवहरूले फुकेको शङ्खको आवाजजस्तै थियो । जसरी कौरवले फुकेको शङ्खको आवाज दिगदिगान्तर फैलिएको तर वेकामे स्याल हुइँया सावित भयो यिनीहरूको पनि ठीक त्यही भयो ।
जब जनता बौरिएर चितवनमा अर्जुनको पाञ्चजन्य फुक्न थाले तबमात्र स्याल हुइँया गर्नेहरूको अपवित्र आत्मा पीडाले छटपटायो । उनीहरू भित्रैदेखि रोए, तडपिए, छटपटाए, मुरमुरिए र आखिर झोक्राउँदै ओलीको एमाले समाप्त हुने कल्पना गर्दै बिलाउनेका फेदतिर ओरालो लागे ।
कतिपय पत्रकारले कुहिगन्धे पीतपत्रकारिता नगर्न र पत्रकारिताको सामान्य धर्म पालना गर्न अनुरोध गर्दै सम्पादकहरूलाई पत्रसमेत लेखे । तर, निमकको सोझो गर्नुपर्ने बाध्यताको घनले कुच्याएको मन–मस्तिष्क बोकेका सम्पादकहरूले त्यो सल्लाह मानेनन् । बरु झन उत्साहित बनेर सम्पादकीय, लेख र समाचारमार्फत एमालेको छेउमा उभिएर विषवमन गरिरहे । मालिकले लगाएको काम जस्तोसुकै होस् फत्ते गर्नु कामदारको कर्तब्य हुन जान्छ अहिले पनि उनीहरू त्यो काममा तल्लीन छन् ।
एमालेको दशौँ महाधिवेशन नयाँ इतिहास रच्दै सम्पन्न भयो । महाधिवेशन भब्य, सभ्य, सफलरुपमा सम्पन्न भएपछि विरोधी दलका केही नेता र एमाले अध्यक्ष ओलीको विरोध गर्न खटाइएकाहरूको आत्मा पीडाले रोयो । जब सौराहामा एमालेका केही पदबाहेकमा निर्वाचन हुने भयो तब ती कुण्ठाग्रस्त अभिसप्तहरूले ‘हार्दा को हार्छ’ भन्ने अडकलवाजी सुरु गरे । उनीहरूले माओवादी फुटाएर आएकाहरू उठेका पदमा मात्र चुनाव हुनु नै माओवादीबाट आएका नेताहरूलाई हराएर पाखा लगाउने ‘भित्री ओली योजना’ हो भनेर प्रचारसम्म गर्न भ्याए ।
भोलिपल्ट माओवादीबाट आएकाहरूले चुनाव जितेको थाहा पाए । तब फेरि लेखे ‘हेर हेर आफ्ना त्यस्ता पुराना र योग्य नेताहरूलाई हराएर माओवादीबाट आएका चैतेहरूलाई जिताएको १ यस्तो पनि पार्टी हुन्छ’ समाचार बग्रेल्ती छरे । जे गरे पनि खोट देखाउने काममा खटेका ज्यालादारीहरूले सबै काममा खोट नै लगाए । यसलाई एमालेजनले कसरी लिए त्यो भने भविष्यले नै बताउला ।
विधान अधिवेशन भइसकेको हुनाले त्यहाँ विधानबारे छलफल गर्नु थिएन । नारायणी किनारमा निर्मित महाधिवेशन उद्घाटनस्थलमा उर्लिएको जनलहर, देश–विदेशबाट आएका अथिति र नेता–कार्यकर्तालाई स्वागत गर्नु थियो । जे गर्नु थियो त्यो एमालेजनले सफलतापूर्वक सम्पन्न गरे । तर, त्यही सफलतामा अन्य पार्टीका कतिपय नेताले आफू समाप्त भएको दृष्य देखे ।
नेकपाकालमा जब १९ पेजको छोडपत्र ओलीसमक्ष प्रस्तुत गरियो तब एउटा झुण्डले एमाले आफ्नो कब्जामा भएको गलत धारणा बनायो । त्यसै बेला आफूहरूले गम्भीर गल्ती गर्दै ओलीलाई तीन पटकसम्म साधारण सदस्यसमेत नरहने गरी नकालेको कुरा उनीहरू अहिले पनि सम्झन चाहँदैनन् । त्यसैगरी उनीहरू कपटपूर्ण खेलोफड्को गर्दै परमादेशबाट सत्ता प्राप्त गरेको पनि जनतालाई भन्दैनन् । ओलीलाई असफल बनाउने एकमात्र निर्विकल्प योजनाको भुत्ते हतियार बोकेर अहिले पनि भड्खालामा परेको बिर्सिएर अग्रगामी छलाङ मारेको रुखो कल्पनामा मस्त छन् ।
नेकपाका ऋषि कट्टेलले मुद्दा जित्दा ओलीले ‘सेटिङ’ गरेको देख्नेहरूले ‘नेपाली काङग्रेसका सभापति तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई भोलि दिनको ५ बजे भित्र प्रधानमन्त्री पदमा सपथग्रहण गराउनु’ भनेर परमादेश गराउँदाको ‘सेटिङ’ लाई बिरालाले गुहु लुकाएझैं लुकाउन कोसिस गरे । तर भेद खुलिहाल्यो । न्यायालयका न्यायाधीशलाई समेत सत्ताको भागबन्डा गर्नेहरूलाई जनताले राम्रोसँग चिनेका छन् भन्ने नर्विसिए हुन्छ। कसले सेटिङ गरेको थियो र कसले थिएन भन्ने पनि जनको अदालतले निर्कियोल गर्छ । अब आत्तिनुको कुनै अर्थ छैन । प्रतिगमन सच्चिएको ‘नेता बकबास’ को लल्लौरी विल्लौरी पनि जनताले रुचिकर मानेनन् । अब एमाले विरोधी तत्वसँग चुनावमा ओलीको विरोध गर्ने नाराबाहेक अरु कुनै केही हुने छैन ।
निकट भविष्यमा चुनाव हुँदैछ । सबै नेताहरू जनताको घरदैलोमा पुग्नैपर्छ । अहिले सत्ता पक्षको एउटा टोली ‘देशी–विदेशी शक्ति लागेर’ आफूहरूको गठबन्धन भत्काउँदै छन् भनेर रोइलो गर्दैछ भने अर्को टोली ‘चुनावसम्म हाम्रो गठबन्धन कायम रहन्छ’ अग्ला पहाडमा चढेर चिच्याउँदै छन् । गठबन्धन दलबाट सत्ताको नेतृत्व गरिरहेको काङ्ग्रेस नेता भने अहिलेसम्म खुलेका छैनन् । केही समयअघि काङग्रेसका चितवन सभापतिले प्रचण्डका बाउछोरीलाई डाडो कटाउने र काङ्ग्रेसका कार्यकर्ताले आफ्नै चिन्ह रुखमा भोट हाल्ने भाषण गर्नुभयो । त्यसपछि भक्तपुर पुगेर गगन थापाले काङ्ग्रेसले कसैसँग चुनावी तालमेल नगर्ने घोषणा गर्नुभयो ।
काङ्ग्रेससँग मिलेर सत्ताको तर मार्न स्वाद पारेका ‘वामहरू’ चुनावमा काङ्ग्रेसको टेको नपाए पार्लाकपुर्लुक लड्ने अवस्थामा छन् । उनीहरूसँग जरोकिलो, थातथलो, साथसहयोग काङ्ग्रेसबाहेक अन्य केही छैन । जब जनतासम्म जाने पहुँच हुँदैन तब चुनावमा जानुको कुनै अर्थ रहँदैन र त्यस्तो बेला कतै त्यान्द्रो फेला परिहाल्छ कि भन्ने सोच्नु अस्वभाविक पनि होइन। अहिले ती वामहरू ‘आफू जित्न सकिँदैन एमालेलाई जसरी पनि हराउनु पर्छ’ भनेर सात गाउँ डुवाउने सल्लाह गर्दैछन् ।
यता काङ्ग्रेस भने आफूसँग लिसो बनेर लेपासिएका वामहरूसँग खुशी छैन । काङ्ग्रेसका नेताहरूको बेला बेला आउने अभिव्यक्तिले यसको पुष्टि गर्छ । गठबन्धनका केही नेताले प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धन कायम रहने स्याल हुइँया फिजाइरहेका छन् भने त्यस्तो हावा कुरा नपत्याउन काङ्ग्रेस नेताले कार्यकर्तालाई भन्न थालेका छन् । यसले प्रतिगमन सच्याएर उच्च छलाङ मार्दै काङ्ग्रेस सभापति देउवालाई ‘अग्रगामी सत्ता’ बुझाउन विफल दाहाल र माधज नेपालहरू विलखबन्धमा परेका छन् ।
राष्ट्र र जनताका लागि आर्थिक, सामाजिक र राजनीतिक विकासका योजना निर्माण गर्नु दलहरूको कर्तब्य हो । जुन नेताले जनता सुखी हुने, देशमा विकास गर्न सकिने योजना प्रस्तुत गर्छ जनताले त्यसैलाई विश्वास गर्छन् । अहिले कतिपय ओली विरोधी ‘वाम’ हरूले आफ्नो योजना नै ओलीको विरोध गर्नु बनाएका छन् । उनीहरूले ओलीको विरोध गर्नु नै जनता सुखी हुनु र देश सम्पन्न हुनु हो भन्ने शिक्षामा सायद विद्यावारिधि गर्दै छन् । र, त्यही विद्यावारिधिको कागज देखाएर भोट माग्न जनतासामु जाने निर्णय गरेका छन् ।
यस लेखोटलाई कतिपयले ओली भक्तिको नमुना ठान्लान् । कतिपयले अन्य ‘वाम’ प्रतिको नकारात्मक टिप्पणी मान्लान । तर, मित्र छातीमा हात राखेर भन्नुहोस् अन्य ‘वाम’का ती नेताहरूले जनता र राष्ट्रहितका कुन योजना ल्याए, कुन विचार र पद्धतिको वकालत गरे ? र, आजसम्म ओलीलाई गाली नगरी कुन भाषण पुरा गरे ? यस्तो लाग्छ, उनीहरुका पार्टीको दूरदृष्टि भनेकै ओलीलाई देखाइदिने हो । ब्यक्तिगत रिस र अहङ्कारले बनेको पार्टी र जनाधार नभएको नेता कति दिन टिक्ला ? निकट भविष्यले आफ्नो फैसला सुनाउने नै छ । त्यो फैसला पक्कै पनि परमादेशमा नभएर जनादेशमा आधारित हुनेछ ।
पुराना लेखक गोविन्द पोखरेलको यो आलेख परिसंवाद डटकममा प्रकाशित भएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
