“ॐ नमः शिवायं
ॐ तत्पुरुषाय विद्यहे महादेवाय धीमहि ; तन्नो रुद्रः प्रचोदयात् ।
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मातृतात् ।”
फागुन महिना– न चिसो न गर्मी, न झरी न हिलो, न हुरीबतास न धुलो झेल्नु पर्ने बेला । दिनहरू बढ्दै गएको र रातहरु घट्दै गएको समय । सृष्टि र प्रकृतिको महत्व बोध गर्दै मनलाई धर्म र भक्तिमा लगाउने बखत । यसै बेला आइपुगेको छ, शिवजीलाई प्यारो लाग्ने दिन– महाशिवरात्रि ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि हिन्दुहरूको महान पर्व हो । प्रत्येक महिनाको कृष्ण चतुर्दशीका दिन शिवरात्रि पर्छ, । अरु चतुर्दशीमध्ये फागुनको चतुर्दशी विशेष भएकाले यसलाई महाशिवरात्रि भनिएको हो ।
शिवरात्रिको अर्थ शिवको रात्रि हुन्छ । यस दिनमा उपवास बसेर रातमा जाग्राम रही भगवान शिवको आराधना गर्ने परम्परा छ । शिवरात्रि नकारात्मक सोच र विचारलाई शिवमा चढाउने अनि शान्त र कल्याणकारी बन्ने पवित्र दिन हो । यसबाट हामी दिर्घायू हुन्छौं भन्ने जनविश्वास छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बी यसदिन उपबास बसी भगवान शिवको पूजा–अर्चना गर्दा सर्वसिद्ध लाभ हुने र मृत्युपछि यमलोक जानु नपर्ने विश्वास राख्छन् । सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको प्यारो दिनका रुपमा शिवरात्रिलाई लिइन्छ । ब्रम्हाले शिवजीलाई यसै दिन उत्पन्न गरेका थिए ।
तिनै भगवान शिवले सप्तऋषिलाई औपचारिक रुपमा योग शिक्षा प्रदान गरे । आज पनि संसारभर स्वस्थ शरीर, एकाग्र मन र शुद्ध चित्त बनाउन योगको अभ्यास गरिन्छ । भगवान शिवको पार्वतीस‘ग यसै दिन विवाह भएको थियो । शिवरात्रिलाई उनले ताण्डव नृत्य गरेको पवित्र दिनको रुपमा पनि लिइन्छ :
“जटाटवीगज्जल प्रवाहपावितस्थले गलेद्रवलम्ब्य लम्बितां भुजंगतुंगभालिकाम् ।
डमड्डमड्डमड्डमनिनादबड्डमर्वयं चकार चंडतांडवं तनोतु नः शिवः शिवम् ।।१।।”
यस दिन शुद्ध भई शिव मन्दिरमा गएर पूजा गर्ने, ब्रत बस्ने र भगवान शिवका प्रिय चिजहरू बेलपत्र, धतुरो र दूध चढाउने गरिन्छ । धतुरोलाई विकार र बेलपत्रलाई गलत आचरणको प्रतीक मानिन्छ । शिवरात्रिमा राति जागरण बस्ने र चार प्रहरको पूजा गर्ने परम्परा छ । माटाको भाँडोमा पानी भरेर त्यसमाथि बेलपत्र, धतुराको फूल, आँक, चामल राखेर शिवलिंगमा अर्पण गरिन्छ । जाग्राम बस्दा ब्रतालुले शिवपुराण पाठ गर्ने र शिव कथा सुन्ने गर्छन् । भोलिपल्ट बिहान जौ, तिल र बेलपत्रको हवनपश्चात व्रतको समापन गरिन्छ ।
वैज्ञानिक रुपमा प्रमाणित भएअनुसार शिवरात्रिमा जाग्राम रहँदा फाइदा हुन्छ । त्यस रात उत्तरी धु्रवको पृथ्वीका जीवहरुमा गुरुत्वाकर्षणको असाधारण बहाव रहने संयोग मिलेको हुल्छ । यसले शरीर र मनका लागि लाभ गर्छ । यसबाट शक्ति, जाँगर र जोस पैदा हुन्छ ।
ज्योतिष शास्त्रअनुसार चतुर्दशी तिथिमा चन्द्रमा कमजोर र क्षीणस्थ अवस्थामा हुन्छन् । चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ । मन कमजोर हुँदा सन्तापले घेर्ने र कष्टको सामना गर्नुपर्छ । त्यसबेला चन्द्रमाले प्राणीलाई ऊर्जा प्रदान गर्न असमर्थ रहन्छन् । चन्द्रमा शिवको मस्तकमा रहेका हुन्छन् । त्यसैले शिवरात्रिमा भगवान शिवको आराधना गर्दा कष्टबाट मुक्ति मिल्ने र दुःख नाश हुने धार्मिक मान्यता छ ।
शिवरात्रिमा ब्रत बस्ने परम्पराबारे एक रोचक कथा छ– परापूर्वकालमा एक ब्याधाले सिकार गरेर आफ्नो परिवार पाल्दै आएको थियो । एक दिन उसले साँझसम्म पनि कुनै सिकार पाएन । ऊ रित्तै घर फर्कन सकेन । उसले सिकारका लागि एउटा जुक्ति निकाल्यो । कुनै बेला त प्यास मेटाउन पानी भएको स्थानमा मृग आउँछन् भन्ने सोचेर नजिकैकोे रुखमा चढेर बस्यो । ब्याधा भोकै थियो । सिकार कताबाट आउँछ भनी रुखका पातहरु पन्छाउन लाग्दा प्यास मेट्न लगेको पानी नै पोखियो ।
रात छिपिँदै जाँदा मनमा बेचैन बढ्दो थियो । सिकार आएको हेर्न भनी रुखका पातहरु टिपेर फाल्ने गर्दैमा विहान हुन लाग्यो । त्यसैबेला एक मृगिणी पानी खान आई । ब्याधा खुसी हुँदै बाण हान्न तयार भयो । यो कुरा थाहा पाएर मृगिणीले बिन्ती गरी– ‘म भर्खरकी सुत्केरी हुँ । मेरा तीन सन्तान भोकै छन् । म गएर दूध चुसाएर फर्कन्छु, अहिले मलाई नमार ।’ त्यस कुरालाई ब्याधाले पनि मञ्जुर गर्यो ।
मृगिणी फर्किई । बच्चाहरूलाई दूध चुसाएपछि आफ्ना पति भाले मृगलाई सबै कुरा सुनाई । भाले मृगले सन्तानका लागि आमा बाँच्नु पर्ने भन्दै ब्याधासमक्ष आफू जाने कुरा गर्यो । मृगिणीले त्यस कुरालाई मानिन र आफ्नो बचन पूरा गर्न बाटो लागी । भाले मृग उसको पछि लाग्यो । तीनवटै सन्तान आमाबाबुको पछिपछि लागे ।
एउटा बाचा पूरा गर्न पाँचवटा प्राणी आएको देखेर ब्याधा जिल्ल प¥यो । भाले मृगले अघि सर्दै भन्यो– ‘हामी पाँचै एक अर्काबिना बाँच्न सक्दैनौं, त्यसले हामी सबैलाई मार ।’ यस कुराले ब्याधाको मन बदलियो । उसको मनमा प्राणीप्रति प्रेम जाग्यो । उसले बचन फिर्ता लिँदै पाँचै प्राणीलाई सकुशल फर्कन अनुमति दियो ।
त्यसदिन संयोगले शिवरात्रि रहेछ । ब्याधा भोकै भएकाले ब्रत बसेसरह भयो । उसले रुख चढ्दा लगेको जल पोखिँदा त्यसै रुखको फेदमा रहेको शिवलिंगमा परेछ । ऊ चढेको रुख बेलको थियो । पातहरु चुड्दै फाल्दा शिवलिंगमा बेलपत्र चढिन पुगेछ । यसकै कारणले ब्याधाले सीधै स्वर्ग जान पाएको दृष्टान्त हाम्रा धार्मिक पुराणहरुमा पाइन्छ । यसरी अन्जानको ब्रत र पूजाले पनि लाभ हुन्छ भने जानीजानी बसेको ब्रत र श्रद्धापूर्वक गरेको भगवानको पूजाले अझ बढी लाभ हुन्छ । यसबाट सहजै दुःख र कष्ट हट्ने, मनमा करुणा भाव जाग्ने र अन्तमा मोक्ष प्राप्त हुने विश्वास छ ।
धार्मिक मान्यताअनुसार शिवलिंगमा जल, दूध, दही, घ्यू, मह, बेलको पात चढाए आत्मशुद्ध हुन्छ । शिवपार्वतीलाई सिंदुर चढाए सद्गुण वृद्धि हुन्छ । फलफूल चढाए दीर्घायु र इच्छा पूरा हुन्छ । धूप र दीप बाल्नाले सम्पत्ति र ज्ञान वृद्धि हुन्छ । बेलपत्र चढाउनाले पापमुक्त भई संसारमा सुख भोग गर्ने अवसर जुट्छ ।
माघ महिनामा कठ्याग्रिँदो चिसोले पात झरेर जीर्ण रुख बिरुवामा फागुनमा पालुवा पलाउने र फूल फुल्ने अनि झारहरूसमेत उम्रने गर्छन् । यस्तो हुनमा शिवतत्वको कारण मान्दै शिवरात्रि मनाउने गरिएको पनि भनिन्छ ।
यसदिन बिहानैदेखि बाटोबाटोमा डोरी टाँगेर केटाकेटीदेखि युवायुवतीले बटुवा र सवारी साधनबाट शिवपूजाका लागि भेटी संकलन गर्छन् । बेलुका भएपछि मठमन्दिरमा, चोकचोकमा र खुला ठाउँमा दाउरा, मुडा बालेर धुनी लगाउने र भजनकीर्तन गर्ने चलन छ । धुनीले शिवजीलाई तातो बनाउँछ र उनी खुसी हुन्छन् भन्ने मान्यता छ ।
शिवरात्रिमा शिवालयहरू भक्तजनले भरीभराउ हुन्छन् । काठमाडौंको पशुपतिमा यस दिन ठूलो मेला लाग्छ । यसका साथसाथै काभ्रे साँगाको कैलाशनाथ, खोटाङको हलेसी, सुनसरीको रामधुनी, मोरङको किरातेश्वर, गुल्मीको गलेश्वरलगायतमा पनि मेला लाग्छ । यस दिन पशुपतिमा रातको चारै पहरमा शिवजीको पूजाका साथै महादीप, अखण्डदीप, लक्ष्यबत्ती बाल्नुका साथै लाख बेलपत्र चढाउने परम्परा छ ।
यस अवसरमा इशानमूर्तिलाई दूधले, अघोरमूर्तिलाई दहीले, वामदेवमूर्तिलाई घिउले र सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।
शिवरात्रिमा पशुपतिनाथका बिहान ४ बजे नै चारै ढोका खुल्छन् । भक्तजनहरू त राति १२ बजेदेखि नै लाइनमा बसिसकेका हुन्छन् । कोरोना कहरका बेलाबाहेक अरु बेला लगभग १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने पशुपति विकास कोषको तथ्यांकले देखाउँछ ।
शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न तराईदेखि छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउँछन् । मेलापछि फर्कँदा उनीहरूले काठमाडौंको जाडो लिएर जान्छन् भन्ने जनविश्वास छ । साँच्चै शिवरात्रिपछि काठमााडौंको चिसो विस्तारै हट्छ । केहीपछि त गर्मी नै हुन्छ ।
शिवरात्रिको मेला भर्न साधुसन्तदेखि नागा बाबाहरू समेत आउँछन् । केही वर्ष पहिलेसम्म पशुपतिमा बाबाहरूसँग मिलेर युवायुवतीले गाँजा, भाङ, धतुरोजस्ता लागूपदार्थ सेवन गर्थे । कोषले अव लागूपदार्थ सेवनलाई निषेध गरेको छ ।
शिवरात्रि राष्ट्रिय पर्व हो । हामी सबै हिन्दु धर्मावलम्बीले खुसी हुँदै यस पर्वलाई उल्लासपूर्वक मनाऔं । यस दिन शुद्ध भएर ब्रत बसी भगवान शिवको पूजा आराधना गर्दै मनमा शान्ति, शरीर स्वस्थ र जीवनमा सुख प्राप्त गरौं ।
तिमिल्सिना, समसामयिक विषयमा अनुसन्धानात्मक आलेख तयार गर्नुहुन्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
