• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

उल्टो बसेर बाइक चलाउने चित्रको लकडाउनमा विचित्र कथा

३० सेकेन्डमा उल्टोसुल्टोबाट संसारको सबैभन्दा धेरै पटक टेबलटेनिस खेलेर किर्तिमानी राख्ने तयारीमा छन् । कहिले लकडाउन खुल्ला र काम अघि बढाउँ भन्ने हतारोमा छन् उनी ।


  • नरेन्द्र रौले
  • आइतवार, बैशाख २८, २०७७
  • 44.2K
    SHARES

 

अचेल चित्रको निश्चित दैनिकी छैन ।

सुत्ने र उठ्ने समय एउटै छैन । काठमाडौंमा एक्लै बस्ने उनी घुमफिरका सौखिन छन् ।

स्कुटर दौडाउँदै कहिले सुन्दरीजल, कहिले घ्याम्पेडाँडा घुम्न निस्किन्छन् । मनमौजी जीवनशैली छ उनको । कहिलेकाही साथीहरुसँग भेटघाटमा निस्किन्छन् ।

कोठामा एक्लै भएर खाना बनाउन झन्झट लाग्छ । मन लाग्दा पकाउँछन् । नत्र फलफूल पसल गएर भोक मेटाउँछन् । दुब्लो ज्यानका चित्रलाई ज्यान बनाउने र तौल बढाउने चिन्ता छ ।

कसैले भनिदिएछ, केरा खायो भने ज्यान पनि बढ्छ, तौल पनि बढ्छ । त्यसैले होला, फलफूल पसल पुगो कि एक दर्जन केरा त कहिल्यै छुट्दैन ।

‘केरा त खाइएकै छ, ज्यान बढ्न चाहिँ टाइम लाग्ला जस्तो छ, खुलानेपालसँगको छोटो भेटमा उनी भन्छन् ।

मेची महाकाली मोटरसाइकल उल्टो बसी यात्रा गरेर धेरैको ध्यान खिचे, खोटाङ स्थायी घर भएका चित्रकुमार कार्कीले । सन् २०११ मा उदयपुरको गाइघाटबाट यात्राको थालनी गरेका कार्कीले पूर्व झापाको मेचीपुलबाट कञ्चनपुरको महेन्द्रनगरसम्म उल्टो मोटरसाइकल यात्रा गरे ।

१ हजार ३२ किलोमिटरको त्यो दुरी उनले ५ दिन लगाएर पार गरे । पाँचै दिन उनलाई सुरक्षाकर्मीहरूले स्कर्टिङ गरे ।

तर, महाकाली पुगेर यात्रा टुंग्याएनन् कार्कीले । त्यहाबाट बनबासा हुँदै हरिद्वार, ऋषिकेश, नया दिल्ली एक फन्को लगाए । त्यो पनि मोटरसाइकलमा उल्टो फर्केर चलाएरै ।

सफलतापुर्वक मेची महाकाली यात्रा पार गरेपछि कार्कीलाई मनमनै लाग्यो, उल्टो मोटरसाइकल चलाएरै अब संसार यात्रा गर्नुपर्छ । नाम कमाउनु पर्छ ।

तर, सोचे जस्तै कहाँ सजिलो छ र ?

रहरले मात्र पुग्दैनथ्यो । त्यसका लागी पर्याप्त पैसा जुटाउन र आबश्यक तयारी गर्न कठिन थियो ।

खोटाङको राजापानीमा जन्मिएका, खोटाङकै बिजयखर्कमा हुर्किएका, भारतको देहरादुनमा पढेका कार्की चुप लागेर बस्ने युवा हैनन् ।

हुन त उनले जति बाल्यककालमा सायदै अरुले दुःख पाए होला । बाबु आमाको साथ नपाएपछि उनले कहाँ कहाँ पुगेर के के मात्र दुःख भोग्नु परेन ? चित्रकै मनमा कोरिएका छन् ती सबै रेखा ।

त्यो दुःखले झन् उनलाई केही नयाँ, नयाँ काम गर्न भने प्रेरित गरिरह्यो ।

नयाँ काम गर्ने संसारमा आफूलाई चिनाउने भोकले उनलाई केही न केही गर्ने प्रेरित गरिरहन्छ । बेलायतको च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्बाट २०१९ मा सम्मानित उनलाई नेपालका लागी सदभावना दूत पनि घोषणा गरिसकेको छ ।

लकडाउन सूरु हुनुअघि आफ्नै कम्पनी खोल्दै थिए, चित्र । वल्र्ड रेकर्ड फाउन्डेसन नेपाल दर्ता गर्न कागजपत्र ठिक्क तयार पारेका थिए । तर, अचानक लकडाउनले गर्दा उनले काम अघि बढाउँनै पाएनन् ।

वल्र्ड रेकर्ड फाउन्डेसन नेपालमार्फत उनले नेपालका युवाहरुलाई सहयोग गर्न चाहेका थिए । कोही नेपालीले विश्व किर्तिमानी राख्न खोज्नेहरुलाई यसै फाउन्डेसनले अबदेखी आधिकारिक प्रमाणपत्र दिनेछ । त्यसका लागी वल्र्ड रेकर्ड कमिटिसँग छलफल अगाडी बढिसकेको छ ।

पहिले पहिले विश्व किर्तिमानी राख्न दुइ वटा बाटोबाट जान सकिन्थ्यो, नर्मल र फास्ट ट्रयाक ।
छिटो परिणाम खोज्नेहरुले फास्ट ट्रयाकको बाटो रोज्छन् भने ढिलो परिणाम खोज्नेले नर्मल बाटो रोज्छन् ।

नर्मल बाटो रोज्दा खासै धेरै पैसा लाग्दैन । फास्ट ट्रयाकबाट जाने हो भने एक जनाले १३ हजार डलर (करिब १३ लाख रुपैंया) खर्चिनुपर्छ ।

लकडाउनले गर्दा फुर्सदिला बनेका छन्, चित्र । नियमित भेट्नु पर्ने र गर्नु पर्ने कामको लिस्ट लामो छैन । बरु लकडाउन खुल्ने बित्तिकै गर्ने योजनाहरु बनाउदै छन् । विश्व किर्तिमान राख्न चाहने थुप्रैका फोन र म्यासेजहरु आईरहेका छन् । तिनै फोन र म्यासेजको रेस्पोन्स दिदै उनको समय बित्छ ।

०६९ देखी ०७६ सम्म उदयपुर छँदा चित्रले त्रियुगा टाइम्स साप्ताहिक, त्रियुगा एक्सप्रेस दैनिक, उदयपुर सिम्रिक दैनिकमा काम गरे । अहिले पनि पत्रकारिताप्रतिको प्रेम टुटिसकेको छैन । राजधानीबाट प्रकाशित हुने दपर्ण दैनिकमा लेखिरहेका छन् ।

युट्युब र फेसबुकमा चित्रको समय बढी बित्ने गरेको छ । युट्युबमा मोटिभेश्नल र प्रयांक भिडिओ खुब हेर्छन् । मन बहलाउन पुराना नेपाली गीतहरु सुन्छन् । पछिल्लो समय टिकटकप्रति उनको लगाब बढेको छ ।

उनले बनाएका कति टिकटक भिडिओहरु भाइरल बनेका छन् । उनले बनाएका भिडिओहरुले २ करोड भन्दा बढी भ्युज पाईसकेका छन् ।

प्रायः घुमिरहन रुचाउने चित्रलाई लकडाउनले बोर फिल गराएको छ । यो खुल्ने बित्तिकै अर्को विश्व किर्तिमान राख्न फेरी उनी कस्सिनेछन् ।

३० सेकेन्डमा उल्टोसुल्टोबाट संसारको सबैभन्दा धेरै पटक टेबलटेनिस खेलेर किर्तिमानी राख्ने तयारीमा छन् उनी । कहिले लकडाउन खुल्ला र काम अघि बढाउँ भन्ने हतारोमा छन् उनी ।

चित्रको आगामी यात्रा झन् सफल बनोस्, संसारभर नै विचित्र हुने गरी काम गर्न सकुन् ।

खुलानेपालको कामना ।

प्रतिक्रिया