• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

फागुको झङ्कार

देब्रे गालाको डिम्पल छोपेर हासी हासी दाहिने हातका पाँचै औंलाले अबीर र केशरी मोलेर लाइदिनु छ


  • हरि दाहाल
  • बिहिबार, चैत्र ३, २०७८
  • 11.2K
    SHARES

मायाले दिएको
पीरको टाटो छोप्न
तिम्रो देब्रे गालाको
डिम्पल छोपेर
हासी हासी
दाहिने हातका
पाँचै औंलाले अबीर र केशरी
मोलेर लाइदिनु छ ।

रंग खुशी बनेर
बगेको छ
उमङ्ग बनेर
छचल्किएको छ
उत्सव बनेर
उछालिएको छ
हासो बनेर
मुस्कुराएको छ
चाड बनेर
चर्चित छ ।

फागुले
चाउरिएका गालाका
मुजा पुर्दै
दिक्दारी मनलाई
प्रफुल्ल पारेर
निरास मान्छेलाई
हर्सित बनाउँदै
बिछोड आत्मालाई
मिलनका लागि रंगको
फड्के हाल्दियो
मान्छेलाई मान्छे जस्तै
खुसी पार्न मादक
उमङ्ग लप्का सरी फैलियो ।।

पैंयुको रूखमा चढेर
आएको फागु
गुराँसको बोटमा चढेर
छाएको फागु
आकाश गङ्गाको
चन्द्रमाले छरेको फागु
मान्छेको निधार टल्किएको
गालामा सजिएको
मोहक तस्वीर
मूलढोका माथि टाँसेको
नागको तस्वीर झैँ
वर्ष दिनभरि सजाई रहुँला
रंगले हुर्काएका
आम मनहरूलाई
फागुको शुभकामना ।।।

प्रतिक्रिया