• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सडक कर्मचारीका पीडा : गाडीभाडामै सकिन्छ आधा तलब

जवानी छउन्जेल सडकमा काम गर्यो, बूढो हुँदा रित्तो हात


  • प्रतिमा सिलवाल
  • शुक्रबार, चैत्र ११, २०७८
  • 20.2K
    SHARES

चितवन । लीलाधर ढकालले २०६१ सालदेखि सडक डिभिजन कार्यालय चितवनअन्तर्गत रहेर ‘लेन्थ वर्कर’ को काम गर्दै आउनु भयो ।

सडकको नियमित सरसफाइ गर्ने उहाँको ड्यूटी थियो । २०७७ भदौ २५ गते सडक सफाइ गरिरहँदा प्रहरीले हाँकेको स्कुटरले ठक्कर दियो। ६७ वर्षका लीलाधरको हातमा चोट लाग्यो। औँलामा ठूलै चोट लाग्यो। नियमित सडक सफाइको काम गर्न नसक्ने अवस्थामा उहाँ पुग्नुभयो ।

२०६१ सालमा ३ हजार ५ सय रुपैयाँबाट जागिर सुरु गर्नुभएका लीलाधरको तलब बढेर २१ हजार २ सय २५ रुपैयाँ पुगेको थियो। काम गरेको १७ वर्षसम्म न त कार्यालयले बीमा गरिदियो न सुरक्षाको लागि कुनै सुविधा थियो । उपचार खर्च भने कार्यालयले गरिदियो।

प्रतिमा सिलवाल

दुर्घटनामा घाइतेपछि उहाँ खाली हात घर फर्किनुभयो । उहाँको ठाउँमा भदौ २७ देखि लागू हुनेगरी बुहारी विमला ढकाललाई काममा लागाइयो । तर, १७ वर्ष सडकमा धुलो खाँदै सफाइ गरेका ढकाल भने बुढ्यौलीमा रित्तो हात घर फर्किन बाध्य हुनुभयो ।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी शिव खनालका अनुसार सडकको नियमित सफाइको लागि लीलाधर जस्ता ९७ जना लेन्थ वर्कर नियुक्त गरिएको छ । उनीहरूले तोकिएको रुटमा सडक सफाइ गर्छन् । उनीहरूको प्रतिव्यक्ति पहाडमा ३ र तराईमा पाँच किलोमिटरसम्म सडक सफाइ गर्ने जिम्मा हुन्छ।

तर, उनीहरूको परिचयपत्र दिने व्यवस्था सडक डिभिजन कार्यालयले गरेको छैन। परिचयपत्र साथमा नहुँदा घरभन्दा पर सडक सफाइमा जाँदा सडककै कर्मचारी भए पनि गाडीभाडा तिर्नुपर्ने बध्यतामा उनीहरू छन्।

सडक सफाइ कर्मचारीको अर्को नाम हो जीवनाथ ढुंगाना । २५ वर्षदेखि लेन्थ वर्करको रुपमा कार्यरत जीवनाथ अहिले ७६ वर्षको हुनुभयो । भरतपुर महानगर ११ को नौरंगे स्थायी बसोबास भएका जीवनाथको काम गर्ने एरिया चितवन राष्ट्रिय निकुञ्जको राप्ती पुलदेखि माडीको कृतनपुरसम्म हो । यो रुटमा पाँच जना कार्यरत छन् । उनीहरू २५ किलोमिटर सफाइ गर्छन् ।

जीवनाथलाई हरेक दिन गाडी चढेर माडी आउजाउ गर्नुपर्छ। भरतपुरको चौबीसकोठीदेखि माडीको रिउ खोलासम्म पुग्दा सार्वजनिक बसले एक सयदेखि एक सय ३० रुपैयाँसम्म भाडा लिने गर्छ। कृतनपुरसम्म पुग्दा त अझ थपिन्छ गाडीभाडा।

‘सडककै कर्मचारी हौँ, ड्रेस लगाएर काममा आउँछु’, जीवनाथ भन्नुहुन्छ, ‘‘तर, बसवालाले भाडा छुट गर्दैन ।’

जीवनाथको दुईतर्फ भाडा हिसाब गर्दा दिनको कम्तीमा दुई सय ५० रुपैयाँभन्दा बढी पर्छ । महिनाको २६ दिन काम गर्नुपर्छ । २६ दिनको गाडी भाडा ६ हजार पाँच सय हुन्छ । यसअघि भरतपुरकै मुख्य सडकमा काम गर्थेँ । तर, अहिले साइट फेरियो । जीवनाथ थप्नुहुन्छ, ‘७६ वर्षको उमेरमा दुःखले कमाएको पैसा पनि गाडीभाडामै सकिन्छ ।’

सडक बोर्ड नेपालले स्थानीय जनताको रोजगारी र उनीहरूको घर पायक सडक सफाइको अवधारणाअनुसार लेन्थ वर्कर राख्ने व्यवस्था गरेको हो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्की डिभिजन सडक कार्यालयले उनीहरूलाई दिने पोशाक नै परिचयपत्रसरह भएको दाबी गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, ‘सडकका कर्मचारीलाई कुनै पनि गाडीले भाडा लिँदैनन् । उनीहरूलाई पनि सडकको पोशाक देखेपछि नलिनुपर्ने हो ।’

तर, आफूहरूलाई परिचयपत्र नभई गाडी भाडामा छुट नदिएको अर्की लेन्थ वर्कर सविता विश्वकर्माले सुनाउनुभयो । ‘सडक कर्मचारी भए परिचयपत्र देखाउनु भन्छन्, ड्रेसले हुँदैन रे। हामीसँग परिचयपत्र नै छैन, कहाँबाट भाडामा छुट पाउनु ।’

सविता पनि भरतपुर महानगरपालिका ६, बाट दैनिक माडी सडक सफाइका लागि आउजाउ गर्नुहुन्छ।

उपदानसमेत छैन

वर्षौँदेखि सडक सफाइमा काम गर्दै आएका सडक मजदुरलाई सडक डिभिजन कार्यालयले केही करार र अधिकांश ज्यालादारीमा नियुक्त गरेको छ। श्रम ऐनले नै ६ महिना नियमित काम गरेपछि करार हुँदै, अस्थायी र स्थायीको प्रक्रियामा लैजानुपर्ने व्यवस्था गरेको छ।

तर, लेन्थवर्कको न त स्थायीको व्यवस्था नै छ न उनीहरूले उपदान नै पाउँछन् । रामसिंह चौधरी १७ वर्षदेखि सडक सफाइको काममै हुनुहुन्छ । बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म सडक छेउछाउ काम गरिरहेको भेटिनुहुन्छ उहाँ । भरतपुर २३ का रामसिंह ६० वर्षको हुनुभयो । शरीरमा कमजोरी बढ्दै गएको छ। ‘अब त ठेला बेल्चा चलाउन सक्दिन जस्तो लाग्न थाल्यो मलाई,’ उहाँ भन्नुहुन्छ, तर, के गर्नु जागिर छोडेकै भोलिपल्टदेखि हात खाली हुन्छ ।

यत्रो वर्ष काम गरेर छोड्दा उपदानमात्रै आए पनि बुढेसकालमा केही सजिलो हुने आस उहाँको छ । रामसिंह भन्नुहुन्छ, ‘‘पातमा जीवन राखेर हिँड्नुपर्छ। तर पनि सरकारले केही हेर्दैन ।’

स्रोतः आइएनएसस्वतन्त्र समाचार

प्रतिक्रिया