• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

भोट माग्नेको रमिता

रेमण्डको सुट, अर्मानिको जुत्ता, रोलेक्सको घडी पहिरिएर, टोयोटाको पजेरोमा भोट माग्न आउनु, म रमिता हेरौंला ।


  • हरि दाहाल
  • मङ्लबार, बैशाख १३, २०७९
  • 16.7K
    SHARES

कोण सभा गर्ने चोकमा
फोहोरको डुङ्गुर
दुङ्दुङ गन्हाएको छ
सभा गर्न सक्नु हुन्न
मास्कले छेक्न सक्दैन
बूढी र चोरी औंलाले
नाक च्यापेर आउनु ।

आउने बाटोमा
खै कुन ठेकदारले नपुरेको हो ?
गहिरो खाल्डो छ
फुटेको ढल जमेको छ
जुत्तामा फोहोर दलिन्छ
तर्किएर आउनु ।

घरबेटीले मिचेर
साँघुरो भएको सडक पेटि छ
शरीर कोल्टे परेर छिर्दै आउनु
साहुजीले सडक पेटी कब्जा गरिराखेको
झिलिमिली दुकान छ
न अल्झिकन आउनु
पहिलाका खोलामा
अहिले घर फलेका छन्
बाटो नभुलीईकन आउनु ।

पोलबाट लत्रिएका तारको
मुठोले निधार कोतर्छ
काटे चोप पानी न आउने
खानेपानीका धारा छन्
रमिता हेर्दै हेर्दै आउनु ।
अस्पताल गेटमा
टाउकोमा हात लाएर बसेका
मधौरा छन् आँखा लाउदै आउनु ।

नाङो आकाश मुनि
पुस्तक माग्न
दुई हात थापेर बसेका
कलिला नानी बाबु छन्
कालो चश्मा खोलेर
तिनको भविष्य हेर्दै आउनु ।

पासपोर्ट बनाउने लाइनका
नौजवानको भाग्य हेर्दै आउनु
खोलामा पुल छैन
तर्नलाई
बुइँ चडेर आउनु ।

खोल्सामा कल्भर्ट छैन
गाउँमा एम्बुलेन्स छैन
अरु त के कुरा
नागरिकको खासमा
इज्जत छैन तैपनि
आफ्नो नगरको
बिजोग हेर्दै हेर्दै
रेमण्डको सुट
अर्मानिको जुत्ता
रोलेक्सको घडी पहिरिएर
टोयोटाको पजेरोमा
भोट माग्न आउनु
म रमिता हेरौंला ।

प्रतिक्रिया