• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

निर्वाचन तयारी ‘प्रक्रियातर्फ ६० प्रतिशत काम सकियो’

'अहिले संविधान अनुसार प्रतिनिधि सभा विघटन भएको होइन । अहिले र यसअघिको विघटन फरक हो । यस अनुसार घोषणा भएको निर्वाचनको तयारी हाम्रो दायित्व हो । हामी चुनाव गराउन तयार छौँ '


  • खुला नेपाल
  • शनिबार, कार्तिक २२, २०८२
  • 1.9K
    SHARES

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनस्र्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताउनुभयो ।

२०७७ को विघटनपछिको चुनावमा अदालतलको आदेश कुरेको स्मरण गराउँदै उहाँले अहिले फरक परिस्थितिमा विघटन भएकाले आयोगले तयारीमा कुनै अलमल नगरेको बताउनुभएको हो । चुनावको तयारीबारे समितिले  गरेको छलफलमा भण्डारीले नेपालका हरेक आन्दोलनले संविधान प्रतिस्थापन गरे पनि अहिले संविधान यथावत् रहेको बताउनुभयो । संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले सरकार निर्माण र चुनावको मिति तोकेको स्मरण गराउँदै भण्डारीले शासकीय प्रबन्ध लिकमा ल्याउन चुनाव सर्वोत्तम विकल्प भएको बताउनुभएको हो ।

समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “अहिले संविधान अनुसार प्रतिनिधि सभा विघटन भएको होइन । अहिले र यसअघिको विघटन फरक हो । यस अनुसार घोषणा भएको निर्वाचनको तयारी हाम्रो दायित्व हो । हामी चुनाव गराउन तयार छौँ । हामी तयारीमा छौँ ।”

निर्वाचन आयोगमा दर्ता रहेका र विभिन्न तहहरूमा प्रतिनिधित्व गरेका २९ राजनीतिक दलसँग परामर्श भइसकेको उहाँको भनाइ थियो । राजनीतिक परामर्शका क्रममा कुनै पनि दलले निर्वाचन अस्वीकार नगरेपछि केही पूर्वसर्त भने रहेको बताउनुभयो । उहाँले राजनीतिक रूपमा चुनावको वातावरण र शान्ति सुरक्षामा दलहरूको चासो रहेको पनि समितिमा बताउनुभयो ।

नयाँ र पुराना शक्तिलाई सन्तुलनमा राखी निषेधको अवस्थाको अन्त्यले राजनीतिक रूपमा चुनावको वातावरण बनाउने भण्डारीको भनाइ थियो । सुरक्षा निकायसमेत चुनावका लागि तयार रहेको उहाँले बताउनुभयो । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री पहिचान भइसकेको पनि उहाँले बताउनुभयो । ७९ प्रकारका सामानमध्ये १०–१२ बाहेक अन्य स्वदेशी सामान उपयोग हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया