काठमाडौँ । काठमाडौंको आकर्षक स्थल धरहराबाट एक वर्षमा ७ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ । यो बीचमा ४ लाख बढीले धरहरा अवलोकन गरेका छन् ।
धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईले ४ लाख १२ हजार जना नागरिकले धरहरा प्रवेश गरेबापत उक्त रकम सङ्कलन भएको जानकारी दिए ।
२०८१ मङ्सिर ९ गतेदेखि सरकारले सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको थियो । त्यसयता हालसम्म उक्त रकम सङ्कलन भएको उनले बताए ।
‘धरहरा प्रवेश गर्नेको सङ्ख्या सुरुवाती चरणमा भन्दा अहिले बढेको छ । पहिला १०ः३० बजेदेखि ४ बजेसम्म धरहरा प्रवेश समय थियो । २०८२ साउन १ गतेदेखि बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुला गरियो,’ राईले भने,‘यस कारण धरहरा चढ्नेको सङ्ख्या बढेको छ ।’
साथै धरहरा प्रवेशमा ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । जसमा धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ, धरहरा चढ्न नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकिएको छ ।
विद्यार्थी बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । विदेशी नागरिकका लागि प्रति व्यक्ति १ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
