एक महिनाअघिसम्म स्वास्थ्य विशेषज्ञहरू जापान विश्वमा कोरोनाभाइरस “उच्च प्रकोप क्षेत्र” मध्ये एक हुने विश्लेषण गरिरहेका थिए । सुरुकै गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढेमा स्वास्थ्य उपकरण र जनशक्ति दुवै अपुग हुॅदा देशको उपचार प्रणाली नै भत्कने चेतावनी दिइरहेका थिए ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई ख्याल गर्दै अप्रिल ७ तारिख प्रधानमन्त्री शिन्जो आबेले राजधानी र अन्य प्रभावित क्षेत्रसहित सात प्रिफेक्चरमा लागू हुने गरी आपतकाल घोषणा गरे । कोरोना संक्रमण दरमा उच्च वृद्ध भएपछि अप्रिल १६ मा आपतकाललाई देशका ४७ वटै प्रिफेक्चरमा लागू गरियो ।
तर, जापानको आपतकाल लकडाउन थिएन ।
केही कलकारखाना र अफिसहरू बन्द रहे पनि धेरैजसो खुल्ला थिए । सरकारकै निर्देशनमा विद्यालय, फिल्महल, नाइट क्लबहरू बन्द गरिएका थिए । मानिसलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको थियो । तर, डर र त्रासको बीच पनि सडकमा गुड्ने र आकाशमा उड्नेहरू चल्न छोडेनन् । त्यतिबेला आपतकालमात्रै घोषणा गरेर संक्रमणको हिसाबले निकै जोखिम लिइएको रूपमा हेरियो ।
बजारमा मास्क अभाब हुॅदा सरकारले बढी संक्रमित रहेको क्षेत्रका प्रत्येक परिवारलाई धुन मिल्ने दुईवटा मास्क उपलब्ध गराएको थियो । मास्क वितरणलाई कसैले प्रशंसा गरे त कसैले सामाजिक सन्जालमा पोस्ट गर्दै उपहासका विषय पनि बनाए ।
आपतकाल घोषणाबाट जापानको आर्थिक अवस्थामा पर्ने प्रभावलाई कम गर्न जापान सरकारले १० खर्ब डलरको प्रोत्साहन प्याकेज घोषणा गरेको थियो । जुन रकम अहिले वितरण भइरहेको छ । यो रकम कुल ग्राह्यस्थ उत्पादनको करिब २० प्रतिशत हो ।
त्यसो त हाल कोरोनाको घट्दो संक्रमणलाई लिएर टोकियो मेडिकल एण्ड डेंटल विश्वविद्यालय अस्पतालका सहायक निर्देशक रुयूजी कोइकेको विश्लेषण फरक छ । सरकारी नीतिका कारण कोरोना संक्रमणको दर घटेको होइन भन्ने उनको दाबी छ । बरु जापानीको दैनिक बानी, व्यवहार, सरसफाइ र परम्परा रहेको बताएका छन् ।
जापानमा पहिलोपटक जनवरी ६ मा चाइनाको बुहानबाट फर्केका ३० वर्षीय युवा कोरोना संक्रमित रहेको जानकारी जापान सरकारले जनवरी १६ तारिखमा गराएको थियो । लगतै बुहानबाट फर्केका २ जनामा फेरि संक्रमण देखा पर्यो ।
२९ जनवरीमा जापान सरकारले वुहानबाट फर्काएका आफ्ना १० नागरिकमा कोरोना पुष्टि गर्यो ।
फेब्रुअरी ५ तारिख योकोहामा बन्दरगाहमा डायमण्ड प्रिन्सेस नामक जहाजमा यात्रा गरिरहेका ७१२ जना यात्रुमध्ये १० जनामा कोरोनाको संक्रमण भेटियो । भाइरसबाट संक्रमित १० जना नै ५० वर्षभन्दा बढी उमेरको रहेको बताइएको थियो ।
कोरोनाकै कारण फेब्रुअरी १४ मा पहिलोपटक खानागावा प्रिफेक्चरकी ८० वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो । मार्च २९ मा जापानका चर्चित हांस्यकलाकार ७० वर्षीय केन सिमुरा र अप्रिल २३ मा ६३ वर्षीय लोकप्रिय अभिनेत्री कुमी ओकाएको निधनले मानिसलाई अझ बढी त्रसित बनायो ।
कोरोनाको संक्रमण वृद्धवृद्धामा बढी देखिएपछि विभिन्न बहसका विषयहरू उब्जिए । करिब १२ करोड ६० लाख जनसंख्या रहेको जापान विश्वकै सबैभन्दा धेरै वृद्धवृद्धा भएको मुलुकमध्ये एक हो ।
सुरुवाती चरणमा राजधानी टोकियोको संक्रमण दर डरलाग्दो देखिएको थियो । आपतकाल घोषणाअघि जापानभर ३६५४ संक्रमित थिए ।
आपतकालको पहिलो दिन नै राजधानी टोकियोमा १ सय ४४ जना संक्रमित थपिए । अप्रिल ९ मा पनि टोकियोमा मात्रै १८१ जना लाई संक्रमण देखियो । अप्रिल १० सम्म जापानभरि ५३४७ जनालाई कोरोना पुष्टि भयो ।
अहिलेसम्मको तथ्यांक हेर्ने हो भने जापानमा सबैभन्दा धेरै एकै दिन अप्रिल ११ तारिख देशभर ७४३ जना संक्रमित थपिएका थिए । टोकियोजस्तै अन्य प्रिफेक्चरमा पनि दैनिक १०० भन्दा बढी संक्रमित भेटिएपछि अप्रिल १६ मा देशभर आपतकाल लागू गर्न सरकार बाध्य भयो । आपतकाल घोषणासॅगै सरकारले आफ्ना देशमा रहेका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई १ लाख रूपैयॉ राहत उपलब्ध गराउने घोषणा गर्यो ।
टोकियोमा मात्रै सबैभन्दा बढी अप्रिल १७ मा २०१ जनामा कोरोना संक्रमण पुष्टि भयो ।
मे १ सम्म आइपुग्दा कोरोना संक्रमितको संख्या १४२८१ पुग्यो र देशव्यापी ज्यान गुमाउनेहरूको संख्या ५०० पुग्यो । मृत्यु हुनेमध्ये टोकियोमा सबैभन्दा बढी १४१, ओसाका ४६, होक्काइदो ४० र खानागावा प्रिफेक्चरमा ३८ जना थिए ।
यस्तै तीव्र गतिमा बढेको संक्रमणबाट मे १२ सम्ममा १५८७४ जना प्रभावित थिए ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा मे ७ बाट यता लगातार देशभर नै संक्रमित १०० भन्दा कम भेटिएका छन् । संक्रमण घटेसॅगै जापान सरकारले मे १४ मा ३९ वटा प्रान्तमा आपतकाल अन्त्य गर्यो भने अपेक्षित संक्रमण घट्दा मे २१ मा ओशाका, क्योतो र ह्योगोमा पनि आपतकालीन अवस्था हटायो ।
आपतकाल हटाउन प्रतिएक लाख जनसंख्यामा ०.५ प्रतिशत संक्रमणदर मापदण्ड बनाएर अघि बढेको जापान अन्तत लक्ष नजिक पुगेको छ ।
यस्तै आपतकाल जारी रहेका होक्काइदो, टोकियो, चिबा, खानागावा र साइतामा क्षेत्रमा स्थिति हेरेर स्वास्थ्य विशेषज्ञको रायपछि प्रधानमन्त्री शिन्जो आबेले औपचारिक रूपमा सोमबार आपतकाल अन्त्य गर्ने तयारी गरेको जापानिज समाचार संस्था क्योदोले उल्लेख गरेको छ ।
कोरोनाबाट जापानमा १६,४५१ जना संक्रमित छन् । विश्वभर कोरोनाकै कारण करिब ३ लाख ४५ हजार मानिसको मृत्यु हुँदा जापानमा ८३७ को मृत्यु भएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि जापान सरकारले खेलेको भूमिका निकै प्रशंसनीय मानिएको छ ।
सरकारी तथ्यांकअनुसार करिब २९ लाख ३३ हजार विदेशी बसोबास गर्दै आएको जापानमा सरकारले प्रतिव्यक्ति १० मान र न्यून आय हुने १ करोड ३० लाख परिवारलाई तीन लाख जापानी येन राहत सहयोग उपलब्ध गराउने प्रक्रियामा छ ।
कोरोनाका कारण व्यापार घाटा तथा संकटमा परेका साना तथा मझौला उद्योगलाई एक लाखदेखि २० लाख येनसम्मको आर्थिक सहयोग हुने बताइएको छ ।
अब जापानमा रहेका विदेशीको एउटै डरको विषय रोजगारीको बन्न थालेको छ ।
यो पनि पढ्नुहोस् –
कोरोना : साकुरा फुले, हानामी छैन
- पत्रकार भट्ट, हाल जापानको मसुयामा, इयमी बस्नुहुन्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
