काठमाडौं– आर्थिक वर्ष २०७८/७९ को बजेटमा सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा एमाले नेता योगेश भट्टराईलाई टाउको दुखेको छ । फ़ेशबुकमा स्टाटस लेख्दै उनले आफ्नो असन्तुष्टि पोखेका हुन्।
“ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरीमात्र सहभागीतामुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रक्रियाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ,” भट्टराईले फेसबुकमा आइतबार बिहानै लेखेका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा विमानस्थल नामाकरण गरिने घोषणा गरेका थिए ।
२०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटनाग्रस्त भई तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीसहित हेलिकोप्टरमा सवार पर्यटन उद्यमी आङछिरङ शेर्पालगायतको निधन भएको थियो ।
